केएमसीका डाक्टरमाथि हातपात, चिकित्सक संघको आपत्ति


काठमाडौं- काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल(केएमसी )मा कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा. डा. बिनिता प्रधान र डा. पूजा शाहमाथि हातपात भएको संघले जनाएको छ ।

संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ ।’

संघले चिकित्सकमाथि कुटपिटमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को पहिलो संशोधन २०७९ अनुसार कारबाही गर्न माग गरेको छ ।

अस्पतालमा कार्यरत चिकित्सकहरुका अनुसार ६२ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले ड्यूटीमा रहेका दुई जना चिकित्सकमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए ।

 

 

प्रतिक्रिया