अधिकांश इन्टरनेट सेवामा समस्या


काठमाडौं – नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या आएको छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतको सेवामा आज (बिहीबार) दिउँसोबाट समस्या देखिएको हो ।

वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले इन्टरनेट सेवा एयरटेलले काटिदिएको जानकारी दिए । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए ।

उनीहरुले सरकारले अनुमति नदिएका कारण करिब तीन अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका छन् । यसअघि इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले जति बेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको थियो ।

इन्टरनेट ब्याण्डविथबापत १२ महिनाको करिब तीनअर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न बाँकी छ । सरकारले अवरोध गरेका कारण नेपालभर जतिबेला पनि इन्टरनेट अवरुद्ध हुन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताएका थिए ।

प्रतिक्रिया