एपीएफको केन्द्रीय गोदाममा भएको आगलागीबारे समितिले बुझायो प्रतिवेदन


काठमाडौँ – सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय गोदाममा भएको आगलागीको घटनामा सुरक्षामा गम्भीर लापरबाही देखिएको छ ।

छानबिन समितिले १७ दिन लगाएर बुझाएको प्रतिवेदनमा सशस्त्र प्रहरीले सुरक्षामा धेरै लापरबाही गरेको औँल्याए पनि आगलागीको कारण खुलाउन सकेको छैन ।

करोडौँका सामान भएको गोदामको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा गर्नका लागि व्यक्ति तोकिनुपर्नेमा नतोकिएको समितिले औँल्याएको छ ।

नं. ९ पशुपति बाहिनीको कम्पान्डभित्र केन्द्रीय गोदाम रहेको र उक्त गोदामको सुरक्षा सशस्त्र मुख्यालय हलचोकबाट हुने गरेकोले पनि सुरक्षामा लापरबाही देखिएको समितिले औँल्याएको छ ।

मुख्यालयको भण्डारण शाखाले सुरक्षा गर्नुपर्ने तर गोदाम भने नं. ९ बाहिनीको कम्पान्डमा हुँदा सुरक्षामा ‘डुप्लिकेसन’ भएको समितिले निष्कर्ष निकालेको छ । गोदाम बलम्बुमा रहेको तर सुरक्षा भने हलचोकबाट गर्दा दुरीको हिसाबले पनि टाढा रहेकाले राम्रोसँग सुरक्षा दिन नसकेको समितिले औँल्याएको छ ।

त्यसैगरी गोदाम सुरक्षाका लागि भने कुनै व्यक्ति नतोकिएको समितिले खुलाएको छ । सुरक्षासँग सम्बन्धित बन्दोबस्तीका सामान भएको गोदाममा कुनै व्यक्ति विशेषलाई सुरक्षा तोकेर निगरानी गर्नुपर्नेमा त्यस्तो नदेखिएको समितिको भनाइ छ ।

त्यसैगरी सीसी क्यामेराबाट निगरानी नगरिएको, बेला-बेलामा गोदमको अनुगमन गर्नुपर्नेमा नगरेको पनि समितिले औँल्याएको छ ।

भैपरी आउने विपद्‌बाट जोगिनका लागि सुरक्षा व्यवस्था चुस्त राख्नुपर्नेमा त्यसमा समेत चुकेको प्रतिवेदनमा जनाइएको छ ।

सामान्य सतकर्ता मात्रै अपनाएको भए ठूलो क्षति हुनबाट जोगिने समितिको ठम्याइ छ । तुरुन्तै जल्ने प्रकृतिका सामान र अन्य सामान एकै स्थानमा राखिएको समितिले जनाएको छ ।

प्रतिक्रिया