एमाले कास्की जिल्ला अधिवेशन आजदेखि, अध्यक्ष ओली पोखरा आउँदै


पोखरा – आजदेखि सुरु हुन लागेको नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।

एमाले कास्कीले शुक्रबार पत्रकार सम्मेलन गर्दै अधिवेशतको तयारी पूरा भएको जनाएको छ । अधिवेशनबाट १२० सदस्यीय जिल्ला कमिटी गठन हुनेछ ।

उक्त कमिटीले थप २१ जना मनोनित गरी १४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । अधिवेशनका लागि ९ सय ३५ प्रतिनिधि छनोट भएको अध्यक्ष गुरुङले बताए ।

नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने अध्यक्ष गुरुङको दाबी छ । ‘लोकतान्त्रिक व्यवस्थामा एउटा पदमा ३÷४ जनाले आकंक्षा राख्न सकिन्छ । यो लोकतान्त्रिक विधि पनि हो । अधिवेशन जनवाद पनि हो । त्यसो हुनाले विचार राख्न पाइन्छ । उम्मेदवार बन्न पनि पाइन्छ । विचारको बहस र छलफल गरेर अन्त्यमा एकता प्रस्तुत गरेर सर्वसम्मत नेतृत्व चयनको काम गर्छौं,’ उनले भने ।

प्रतिक्रिया