वर्तमान मुख्यमन्त्रीविरूद्ध निवर्तमान मुख्यमन्त्रीको रिटमा आज सुनुवाई


काठमाडौं – गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्नका लागि नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ।

बहुमत पुर्‍याउन सभामुखको समेत गणना गरिनु असंवैधानिक रहेको भन्दै पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले अधिकारीको नियुक्ति खारेज गरेर आफूलाई मुख्यमन्त्री पदमै निरन्तरता दिन अन्तरिम आदेशको माग गरेका छन्।

पाण्डेले दायर गरेको रिटमा गण्डकीमा मुख्यमन्त्री बन्न ३१ जना प्रदेशसभा सदस्यको समर्थन चाहिने भए पनि अधिकारीले सभामुख र स्वतन्त्र प्रदेशसभा सदस्यको संख्यासमेत जोडेकाले त्यो असंवैधानिक हुने दाबी गरेको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।

प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबार मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए। माओवादीबाट सभामुख रहेका कृष्ण धितालको हस्ताक्षरसमेत मुख्यमन्त्री बनाउन प्रयोग गरिएको थियो।

एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे सहित ३१ सांसदको समर्थन रहेको भन्दै अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाइएको थियो।

 

प्रतिक्रिया