रिजुकाको शव एक हप्तादेखि अस्पतालमै


काठमाडाैं- एक हप्ताअघि कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीका आफन्तहरुले अझै शव बुझेका छैनन् । पीडित परिवारले क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने बताएका हुन् ।

उनी २८ गते बुधबार कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि पुगेकी हुन् । २९ गते बिहीबार बिहानै भीमा प्रदेश अस्पताल भर्ना भएकी थिइन् ।

पाठेघर सफा गर्दैगर्दा केही समयपछि अस्पतालले उनलाई एक्कासी मृत घोषणा गरेको भीमाका श्रीमान् नवराज बलामीले जानकारी दिएका थिए ।

भीमाले स्थानीय क्लिनिकमा उपचार गर्दा पाठेघरमा समस्या देखाएकाे थियाे । उक्त क्लिनिकले भीमालाई प्रदेश अस्पताल रिफर गरेकाे थियाे ।

पाठेघरको उपचार गर्न अस्पताल गएकी भीमाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले आन्दोलन गर्दै आएका थिए ।

परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाउने गरेकाे र केही समयमै मृत घोषणा गरेको आफन्तले बताएका छन् ।

यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका थिए ।

आफन्तहरूले भीमाकी ८ महिनाकी छोरीको स्वास्थ, शिक्षा, परिवारका सदस्य मध्ये एक जनालाई रोजगारी, पालन पोषणको सबै जिम्मा लिनुपर्ने र घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने लगायत माग राख्दै आएका थिए ।

तर, बुधबार भीमाकाे शव आफन्तहरुले अस्पतालमै छाडेर घर फर्किएका छन् । भीमाका आफन्तले राखेकाे माग अस्पतालले पूरा नगरेकाे भन्दै आफन्तहरुले भीमको शव प्रदेश अस्पतालको शव गृहमै छाेडेर घर फर्किएका हुन् ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बिरामीलाई बचाउलाई काेशिस गरेकाे र मृत्यु भइसकेपछि आफूहरुसँग यसकाे सराेकार नहुने बताएका छन् । हालसम्म सरकारी अस्पतालमा क्षतिपूर्ति दिने नगरेकाे डा: खड्काले जानकारी दिए ।

एम्बाेलिजिम भएको बिरामीलाई बचाउन गार्‍हो हुने डा. खड्काले जानकारी दिए । सालकाे टुक्रा मुटुमा गएपछि बाच्न असम्भव नै हुने बताए । यस्तै भीमालाई पनि भएको डा. खड्काकाे भनाइ छ । भीमाकाे चार महिनाकाे गर्भ रहेकाे र ८ हप्तादेखि सालकाे टिउमर बढेकाे डा.खड्काले जानकारी दिए ।

प्रतिक्रिया