सपथ लिएको भोलिपल्टै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको पद धरापमा


काठमाडौं- सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारीले हिजो मुख्यमन्त्रीको सपथ खाएका थिए । उनीसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले पनि हिजै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

तर, आज नागरिक उन्मुक्तिका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । नाउपाकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा गरेकी छिन् ।

मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् । मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि टीकाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन् ।

‘मलाई मन्त्रीको सपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि बिना विभागीयमा सपथ खान भनियो । मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो । मलाई अपमान महसुस भयो, प्रदेश संरचनाका बारेमा जनता निरास रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान मन लागेन, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छुु’ टीका थापालाई उदृध गर्दै उनका श्रीमान् रतन थापाले फेसबुकमा लेखेका छन् ।

माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति ९रञ्जीता पक्ष० का गरी २७ जनाको बहमुत पाउने भन्दै सोडारी सरकारमा गएका थिए । नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य हुँदा ५ जना रेशमको पक्षमा छन् । रेशम चौधरी भने सोडारीको नेतृत्वलाई समर्थन नगर्ने पक्षमा छन् ।

एक जनाको समर्थन नहुने बित्तिकै मुख्यमन्त्रीमा सोडारीले विश्वासको मत पाउदैनन् । ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १ जना प्रदेश सभा सदस्यको निधन भएपछि अहिले प्रदेश सभामा ५२ जना सदस्य छन् । बहुमतमा लागि २७ जना प्रदेश सभा सदस्यको संख्या आवश्यक पर्छ ।

प्रतिक्रिया