कर्णाली पुल अझै केहीदिन बन्द रहने, कति भएकाे छ क्षति ?


काठमाडौं- सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली पुलमा सोमबार दिउँसो विरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना५ख ५२९७ नम्बरको ट्रकमाथि एक्कासी आगलागी भएको थियो।

ट्रकमा लागेको आगो पुलका केबलहरुमा समेत सल्किएपछि सवारी साधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा अध्ययन गरिरहेको छ ।

पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले प्रारम्भिक अध्ययनका क्रममा आगालागीबाट पुलका दायाबाँया तर्फका ७–७ केबल जलेको पाइएको बताए । जलेका केबलसहित पुलको सतहको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारी साधन चलाउन नमिल्ने अधिकारीले जानकारी दिए ।

पुलका दुवैतर्फका १४ वटा केबल जलेको भएपनि अहिलेसम्म थप क्षति भएको नदेखिएको तर मर्मतको काम गर्नुपर्ने भएकाले समय लाग्ने उनको भनाइ छ । उनले पुलको सतह मर्मत गर्नुपर्ने भएकाले कम्तीमा पनि तीन दिनसम्म सवारी साधन चलाउन नमिल्ने बताए ।

अहिले पुलको सतहको मर्मत सम्भार गरिने बताउँदै अधिकारीले आगोले क्षति गरेका केबल भने तत्काल मर्मत नहुने बताए ।
सोमबार साँझ विरगञ्जबाट लाइटर बोकेर आइरहेको ट्रक कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा आगो लागेको थियो । सोही आगोको लप्काले पुलका फलामे केबलमा समातेपछि जलेका थिए । फलामे केबलको बाहिरपट्टी रबर रहेकाले आगलागी भएको प्राविधिकको भनाई छ ।

आगलागीपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । अहिले सुदूरपश्चिम भित्रिने र छुट्ने सवारी साधन वैकल्पिक बाटोको प्रयोग गरेर हुलाकी राजमार्गमार्फत चलिरहेका छन् ।

प्रतिक्रिया