कोशीमा सरकार परिवर्तनको पहल सुरु


विराटनगर – केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि कोशीमा सरकार परिवर्तनको पहल शुरु भएको छ ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्कीले राजीनामा नदिएपछि एमाले र माओवादी केन्द्रले विकल्पका बारेमा छलफल शुरु गरेका छन्  ।

कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

तत्कालीन समयमा कांग्रेससँग विद्रोह गरेर एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए तरपछि माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो । अब एमालेले मुख्यमन्त्रीलाई नियुक्तिका क्रममा दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने तयारी गरेको छ ।

एमाले र माओवादी केन्द्रबीच नयाँ समीकरण बनेकाले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

संविधानको धारा १६८ उपधारा (५) बमोजिमको सरकारलाई दिएको समर्थन नै फिर्ता लिने संवैधानिक व्यवस्था संविधानकै धारा १८८ को उपधारा (२) मा स्पष्ट व्यवस्था रहेको एमालेको दाबी गर्दै आएको छ ।   एमालेले समर्थन फिर्ता लिने भएपछि माओवादी केन्द्रले पनि सरकारबाट राजीनामा दिएर फिर्ता हुने तयारी गरेका छन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९,माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् ।

प्रतिक्रिया