७ पूर्वप्रधानमन्त्रीका नाममा पार्क


विराटनगर – विराटनगर महानगरपालिका–२ र ७ को सिमाना घोघाहा खद्रापैनीलाई घेरेर दिवङ्गत सात जना पूर्वप्रधानमन्त्रीको नाममा पार्क निर्माणको काम धमाधम भइरहेको छ ।

घोघाहा पैनी घुमे जस्तै दुईतर्फ पर्खालले घेरेर डेढ किलोमिटर दुरीमा प्रधानमन्त्री पार्क निर्माण गरिएको हो ।

विराटनगर–२, शनिहाटको महेन्द्र रात्रि मावि उत्तरतर्फबाट सुरु भएको खद्रालाई ‘ड्रेन’ मार्फत सिङ्घिया खोलामा जोडिएको छ । ड्रेनबाहेकको बाँकी खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको काम धमाधम भइरहेको छ । डेढ किलोमिटर दुरीमा प्रधानमन्त्री पार्क निर्माणका लागि विराटनगर महानगरपालिकाको आन्तरिक स्रोतबाट १७ करोड १३ लाख ४८ हजार ८४ रुपियाँ ६६ पैसा (भ्याट र पिएससमेत) लागत लाग्ने छ । खुम्बु निर्माण सेवा प्रालिसँग २०७९ असोजमा सम्झौता भए अनुसार २०८२ असोजसम्ममा निर्माण सम्पन्न हुनुपर्ने अवधि रहेको छ ।

आयोजनाका साइट हेर्ने विराटनगर महानगरपालिकाका इन्जिनियर सुजनराज श्रेष्ठका अनुसार निर्माण कम्पनीले आगामी एक वर्षको अवधिमै पार्क हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । यो पार्क क्षेत्रमा निर्माण हुनुपर्ने मुख्य मुख्य संरचनाको काम सकिएको छ । निर्माण स्थलमा घेराबेरा, डेकोरेटिभ घेराबेरा, पानीको निकास नाला, प्रवेशद्वार, श्रद्धाञ्जली अर्पण स्थल (मोनोमन्ट एरिया), सात जना प्रधानमन्त्रीको स्मारक स्थल, सार्वजानिक शौचालय, चिल्ड्रेन पार्क, ओपन एम्पिथिएटर, सुटिङ क्षेत्र, वेटिङ सेड, दुई सय मिटर लामो बोटिङ क्षेत्र बन्ने छ ।

विराटनगरमा जन्मिएका सात जना दिवङ्गत पूर्वप्रधानमन्त्रीहरू विश्वेश्वरप्रसाद कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र सुशील कोइरालाको स्मारक एकै स्थानमा राखिने छ । स्मारक स्थलमा पूर्वप्रधानमन्त्रीहरूको व्यक्तिगत जानकारी विवरणसमेत उल्लेख गरिने छ । -गोरखापत्र दैनिक

 

प्रतिक्रिया