१३ सैनिक जलेको रामेछाप घटनाबाट नसिकिएको पाठ


काठमाडौं – डढेलोकै कारण २०६६ साल वैशाख ११ गते रामेछाप आगलागीमा १३ सैनिक गुमाएको दुःखद घटना संगठन र परिवार बाहेक अन्यले बिर्सने बेला भइसक्दा फेरि अहिले त्यही घटनालाई सम्झाउने सोही प्रकृतिको अर्को घटना घटेको छ ।

मुलुकको रक्षा गर्नका लागि बर्दी लगाएर ड्युटीमा खटिएका नेपाली सेनाका २ जनाले डोल्पामा लागेको आगलागीमा ज्यान गुमाउँदा अहिले करिब १४ वर्ष अगाडीको घटना सम्झन पुगिएको छ ।

२०६६ सालमा रामेछाप अस्पताल नजिकै लागेको आगो निभाउने क्रममा श्रीजंग गणका १३ जना सैनिकले ज्यान गुमाएका थिए । त्यतिबेला डढेलो नियन्त्रणका लागि गएकामध्ये १३ जनाले जंगलमा नै जलेर ज्यान गुमाउनुपरेको कहालीलाग्दो पीडा थियो । अस्पताल बचाउने लक्ष्यसहित गएका सैनिकहरुका शव समेत चिनिन नसक्ने अवस्थामा भेटिएका थिए ।

त्यस्तै किसिमको घटनामा परी अहिले डोल्पाको देवीदत्त गुल्मका २ जनाले ज्यान गुमाएका छन् भने अन्य २ जना गम्भीर घाइते छन् भने १२ जना सामान्य घाइते रहेको जनाइएको छ ।

डोल्पा घटनामा जुम्लाका हेमन्त रावत र आशिष बुढाले ज्यान गुमाइसकेका छन् । गम्भीर घाइते भएका जम्दार केशरबहादुर मगर र विजय कोइरालाको भने उपचार जारी रहेको जनाइएको छ ।

रामेछापको घटनामा आगो निभाउन गएकामध्ये १ सैनिक र एक प्रहरी सकुशल रहेका थिए । त्यस घटनामा परी प्यूठहरु धनबहादुर विष्णु, पूर्णबहादुर तामाङ, जयराज केसी, अमल्दार टोपबहादुर न्यौपाने, हुद्दा छत्रबहादुर बस्नेत, सिपाहीहरु रामशरण कार्की, सन्तोष महत, इन्द्रबहादुर बम, सन्तोष सुनुवार, निरबहादुर खड्का, ओमकार बस्नेत, युवराज गिरी र प्रकाश अधिकारीले ज्यान गुमाएका थिए ।

कुनै पनि विपतमा पहिलो पंक्तिमा रहेर खटिने सुरक्षा निकायमा कार्यरत कर्मचारीहरुले कर्तव्य निभाइरहेका हुन्छन्, तर अफसोच उनीहरु स्वयंलाई थाहा हुँदैन कतिबेला के हुन्छ भन्ने । नेपाली सेनाले रामेछापमा १४ वर्ष अघि भोगेको पीडालाई ध्यानमा राखेर आफ्ना कर्मचारीहरुलाई त्यसबारे जानकारी गराउनु र सुरक्षित रहने उपाय अवलम्बन गराउनु पर्ने देखिन्छ । नेपालमा जब घटना घट्छ तबमात्र यस्ता कुराहरु उठ्ने गर्दछन् । त्यसको प्रत्यक्ष असर अहिले डोल्पामा भोगिएको छ ।

त्यसैले आगामी दिनमा यस्ता आगलागी, बाढी, पहिरो जस्ता प्राकृतिक विपत् नियन्त्रणमा खटाउनुभन्दा अगाडि उनीहरुलाई सुरक्षित बनाउनु संगठन एवं मुलुकको दायित्व हो । कुनै पनि विपत्को उद्धारमा खटिएकाहरु सबैभन्दा पहिला आफू सुरक्षित हुनुपर्छ भन्ने मानसिकताबाट कोही पनि टाढा भाग्नु हुँदैन ।

संगठनले रामेछापमा ब्यहोरेको अपूरणीय क्षतिलाई शिक्षाको रुपमा लिएर संगठनले आफ्ना सैनिकहरुलाई ज्ञान र सचेतना दिलाउन नसकेको हो कि भन्ने आभाष अहिले देखिन थालेको छ । सुरक्षाकर्मी हो, आपत् विपत्मा जनताको साथ र मुलुक हितका लागि जहिले अग्रपंक्तिमा खटिनुपर्ने हुन्छ  । त्यो कुरा सबैलाई थाहा भएको कुरा हो, तर त्यसबाट हुनेसक्ने क्षतिलाई नजरअन्दाज गर्न हुँदैन ।

प्रतिक्रिया