किन बढ्दैछ बलात्कार जस्तो कुकर्ममा नाबालकहरुको संलग्नता ?


काठमाडौं – केही दिनअघि पूर्वी नवलपरासीमा ५ वर्षकी एक नाबालिकालाई बलात्कार गरेको आरोपमा २ बालक पक्राउ परे । देवचुली घर भएकी ५ वर्षकी नाबालिकाले १३ वर्ष उमेर समूहका दुई बालकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

चक्लेट दिएर पालैपालो करणी गरेको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती दुई नाबालक कक्षा ६ र ७ मा अध्ययनरत छन् । फागुन ४ गते उनीहरुले बलात्कार गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही फागुन १५ गते कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक नाबालक पक्राउ परे । २५ वर्षीया स्थानीय युवतीमाथि बलात्कार गरेको आरोपमा लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय गिरी थरका एक नाबालक पक्राउ परेका थिए । उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । युवतीले करणी गरेको भन्दै घरमा जानकारी दिएपछि प्रहरीमा उजुरी परेको थियो ।

यस्तै गत कात्तिकमा बालिका बलात्कारको बैतडीमा १३ वर्षीय बालक पक्राउ परेका थिए । ती बालकले ८ वर्षीया बालिका बलात्कार गरेको आरोप लगाइएको थियो । बाख्रा चराउन जंगलमा गएका बेला नाबालिकालाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेका थियो ।

गत जेठमा सप्तरीमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका थिए । मामाघरमा बस्दै आएका बालकले ललाइफकाइ बिस्कुट खान दिएर आफ्नै कोठामा बालिकामाथि बलात्कार गरेको खुलेको थियो ।

मुलुकी देवानी संहिता ऐन, २०७४ मा १८ वर्ष उमेरसम्मकालाई नाबालक भनि परिभाषित गरिएको छ । त्यो बेला उनीहरुले मानसिक र शारीरिक विकास पूर्णतया भइसकेको हुँदैन । तर, पछिल्लो समयमा उनीहरु विभिन्न अपराधमा संलग्न भइरहेको पाइएको छ । नेपालमा बलात्कार जस्तो जघन्य अपराधका घटना बढीरहेका बेला यसमा नाबालकहरु पनि संलग्न भइरहेको माथिका उदाहरणबाटै प्रष्ट हुन्छ । शारीरिक रुपमा यौन सम्पर्कका लागि परिपक्व नभइसकेको अवस्थामा नाबालकहरु कसरी यसमा संलग्न भइरहेका छन् भन्ने विषयमा यहाँ हामी चर्चा गर्दैछौं ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार ‘लिंग अथवा अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिन्छ ।’ अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरे बलात्कार गरेको मान्छ ।

सोही अनुसार नाबालकहरु प्नि जबर्जस्ती करणीको उजुरी दर्ता भएपछि पक्राउ पर्न थालेका छन् । पक्राउ परेकाहरुमाथि कानुनअनुसार कारबाही पनि हुने प्रहरीले जनाएको छ ।

 ३ वर्षमा ४,७४१ नाबालिग बलात्कृत, ९६७ पक्राउ

पछिल्लो २ वर्षको आँकडा हेर्ने हो भने ७ हजार ३ सय ४७ नाबालिग बलात्कारको सिकार भएका छन् । जसमध्ये आर्थिक वर्ष २०७७/७८ मा एक बालकसहित १ हजार ६ सय ६६ बालिका बलात्कृत भएको प्रहरीको तथ्यांक छ । जसमध्ये पनि सबैभन्दा बढी ११ देखि १६ वर्ष उमेर समूहका १ हजार १६ जना पीडित रहेका छन् ।

यस्तै आव ०७८/७९ मा १ हजार ५ सय ६० जना बालिका बलात्कृत भइन् । जसमध्ये सबैभन्दा बढी ११ देखि १६ वर्ष उमेर समुहकै ९ सय ६३ जना रहेका छन् ।

यसैगरी गत आर्थिक वर्षमा १ हजार ५ सय १५ बालिकामाथि करणी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । सो वर्ष पनि सबैभन्दा बढी ११–१६ वर्ष उमेर समुहकै ९ सय ४४ जना बालिका पीडित बनेकी थिइन् ।

प्रहरीका अनुसार बलात्कारमा संलग्न नाबालकहरुको तथ्यांक पनि डरलाग्दो छ । पछिल्लो ३ वर्षयता करणी गरेको भन्दै ९ सय ६७ जना नाबालिग पक्राउ परेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा ४ बालिकासहित ३ सय ५१ जना नाबालिग बलात्कार आरोपमा पक्राउ परेका छन् । त्यसमा सबैभन्दा बढी २ सयजना ११–१६ वर्ष उमेर समुहका रहेका छन् ।

यस्तै आर्थिक वर्ष ०७८/७९ मा ३ सय ८ जना बालक जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । जसमा सबैभन्दा बढी १७० जना ११ देखि १६ वर्ष उमेर समूहका छन् ।

यसैगरी गत आर्थिक वर्षमा ४ बालिकासहित ३ सय ८ जना जबर्जस्ती करणी आरोपमा पक्राउ परेको प्रहरीको तथ्यांक छ । गत वर्षपछि ११ देखि १६ वर्ष उमेर समुहकै सबैभन्दा बढी १६८ जना उक्त अपराधमा संलग्न रहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बालबालिकालाई अपराधमा संलग्न हुन नदिने वातावरण बनाउन अभिभावक र विद्यालयले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

उनी भन्छन्– ‘घटनाअनुसार यसका कारण फरकफरक छन् । विशेषगरी बालबालिकालाई स्वतन्त्ररुपमा छोडिँदा सामाजिक सञ्जाल लगायतबाट खराब कुरा सिक्ने, संगत तथा देखासिखीबाट अपराधमा संलग्न हुने गर्छन् । त्यस्तै वरपरको वातावरणले पनि उनीहरु आक्रामक हुने गर्छन् । जसले उनीहरुमा मानसिक असर निम्त्याउन सक्छ ।

बलात्कारजस्ता जघन्य अपराधमा बालबालिका नपरुन् भन्नका लागि अभिभावकले विशेष ध्यान दिनुपर्छ । त्यस्तै विद्यालयले पनि पढाईसँगै उनीहरुको चालढाल र  व्यवहारलाई बुझेर परामर्श दिनुपर्छ । खराब कामबाट रोक्नका लागि अभिभावक र विद्यालयले प्रयास गनुपर्छ । यसमा प्रहरीले पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरिरहेको छ ।’

हुर्काइको वातावरण नै अपराधको कारण

बाल मनोविद सनम पौडेलका अनुसार बालिबालिका हुर्किएको वातावरणले उसको भविष्य निर्धारण गर्नेगर्छ । नाबालकहरुको बाल्यकाल गलत कुरा सिक्दै बित्दा उनीहरु अपराधमा संलग्न हुने उनी बताउँछिन् ।

उनी भन्छिन्– ‘एकैपटक कसैले अपराध गर्दैन, जन्मजात कोही अपराधी हुँदैन । बालबालिकाहरु प्नि एकैपटक अपराध गर्ने मनसायमा पुग्दैनन् । सबैभन्दा उसको वरपरको वातावरण, भोगाइ, सिकाई, हुर्काइ, उसको बाल्यकाल कसरी बित्यो र उसको व्यक्तित्व विकास कसरी भयो भन्ने कुराले उनको मानसिक अवस्थालाई निर्धारण गर्छ ।

त्यसैमा अहिले अनियन्त्रित तरिकाले सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । बालबालिका मात्रै नभएर वयस्कहरु पनि यसको सदुपयोगको बारेमा सचेत छैनन् । हातैमा सबै चिज भएपछि जसले जे मन लाग्यो त्यो सामाजिक सञ्जाल र इन्टरनेटमा हेर्छन् । हार्मोनमा आएको बदलावका कारण झन् किशोरावस्थाका बालबालिकामा कौतूहलता हुन्छ । त्यो हिसाबले के रहेछ भनेर उनीहरु आफूले देखेको र सुनेका कुरालाई प्रयोग गर्न चाहान्छन् । त्यसरी नै उनीहरु जानीनजानी अपराधमा संलग्न भइरहेका छन् । त्यस्तै आफूलाई शक्तिशाली देखाउन पनि किशार बलात्कार जस्ता अपराध गर्न पुग्छन् ।

यस्तै अपराधिक गतिविधिमा संलग्न हुने बालबालिकाको पारिवारिक पृष्ठभूमिले पनि भूमिका खेलेको हुन्छ । परिवारमा कस्तो वातावरण छ भन्ने कुराले बालबालिकाको व्यक्तित्व विकास निर्धारण गर्ने भएकाले आफन्त सचेत हुनुपर्छ । सधैं झै–झगडा भइरहने परिवारबाट आएको बालबालिका मानसिक रुपमा अस्वस्थ हुन्छ । त्यसैकारण बालबालिका कुलत र अपराधमा लाग्नसक्छन् ।

धेरैजसो अपराध गर्ने बालबालिका स्वयम्ले पनि त्यस्ता खाले हिंसा भोगेका हुन्छन् । सोही कारण आफूले भोगेका कुरालाई व्यवहारमा अरुमाथि प्रयोग गर्न उनीहरु पछि पर्दैनन् । यस्तै विद्यालयले पनि आफ्ना विद्यार्थीहरुलाई आचरण र नैतिक शिक्षाका बारेमा ज्ञान दिइरहनु आवश्यक छ ।’

प्रतिक्रिया