कर्णाली मुख्यमन्त्री कँडेलले आज शपथ लिँदै


सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

प्रदेश प्रमुख तिलक परियारले  दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कँडेल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। आज मुख्यमन्त्रीले मात्र शपथ लिने र मन्त्रिपरिषद विस्तार नहुने एमाले कर्णालीका प्रमुख सचेतक टेकराज पछाइले जानकारी दिए।

माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियाले एमाले र माओवादीबीच मन्त्रालय भागबण्डा टुंगो लागेको दाबी गर्दै आज माओवादी संसदीय दलको बैठक बसेर मन्त्री पठाउने टुंगो लाग्ने बताए।

कँडेलले एमाले, माओवादी र नेकपा एसका गरी २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका एक सांसदले समर्थन जनाएका छन्। गत बुधबार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए।

४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक संख्या २१ हो । सत्ता गठबन्धनको पक्षमा सभामुखसहित २४ जना प्रदेशसभा सदस्य छन्।

प्रतिक्रिया