क्रिप्टोकरेन्सीमार्फत दैनिक १ करोडको कारोबार, २ जना पक्राउ


नेपालगन्ज- बाँके प्रहरीले क्रिप्टोकरेन्सीमार्फत दैनिक १ करोडको कारोबार गर्ने २ जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ । नेपालगन्ज – ८ भाटभटेनी नजिकैबाट नेपालगन्ज -२० का अमृत कुमार वर्मा र जानकी गाँउपालिका – १ का रियाज खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

वर्मा र खाँसहितले गैरकानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टोकरेन्सीको कारोबार गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

उनीहरुले प्रतिदिन १ करोड बराबरको अवैध कारोबार गर्ने गरेको प्रारम्भिक अनुसनधानमा खुलेको डीएसपी डाँगीले बताए ।

पक्राउ परेकाहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसूर गरेको देखिएको हुँदा बाँके जिल्ला अदालतबाट ५ दिनमो म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया