काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो


काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) विधिबाट छानिएको हो ।

हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रको latitude, longitude को आधारमा दूरी निकालिएको थियो।  विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो । एकै विद्यालयको परीक्षार्थी सङ्ख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ ।

विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइनेछ ।

प्रतिक्रिया