भारतले दार्चुलामा बनाउने भयो सुविधा सम्पन्न विद्यालय


काठमाडौं– भारतले नेपालमा विभिन्न जिल्लामा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । दूतावासले तीमध्ये ४ सय ८९ वटा परियोजना सम्पन्न भइसकेको जानकारी दिएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ती परियोजना सञ्चालन गरेको हो । ती परियोजनामध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन्, जसमा १० वटा परियोजना दार्चुलामा मात्र छन् । दार्चुलामा बिहीवारमात्र शैल्य शिखर नगरपालिकामा भारतको सहयोगमा गलैनाथ माध्यमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ । भवनका लागि भारत सरकारको २.७३ करोड आर्थिक सहयोग रहेको छ ।

मेयर विजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले उक्त भवनको शिलन्यास गरेका हुन् । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त अवसरमा मेयर धामीले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारतको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचर निर्माण गरिने दूताबासले जनाएको छ ।

भारतले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार नौ वटा एम्बुलेन्स र तीनसय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा आठ वटा एम्बुलेन्स र दुई वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।

 

प्रतिक्रिया